Naya Sabuj Gana

श्री नयाँ सबुज गणको चिनारी

१. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले गोर्खा राज्यबाट १८०१ सालमा शुरु गरिबक्सेको नेपाल एकिकरण अभियान महाराजाधिराज प्रतापसिंह शाह, महाराजाधिराज रण बहादुर शाह तथा महाराजाधिराज गिर्वाणयुद्ध विक्रम शाहको पालासम्म चलिरह्यो । उक्त राज्य कालमा महाकाली भन्दा पश्चिमको एकिकरणमा नेपाली सेनाले कुमाउ र गढवाल जितेपछि यमुना नदी तरेर सो भन्दा पश्चिमको हमला शुरु गर्नु भन्दा अगाडि श्री ५ महाराजाधिराजको हुकुम बमोजिम बडाकाजी अमरसिंह थापाले यमुना नदीको पवित्र किनारमा १८६३ साल असोज ७ गते (तदनुसार ई.स. १८०६) को दिनमा हिन्दु  धर्म अनुसार देवी देवता जगाई नयाँ सबुज कम्पनि लगायत कृष्ण दल, युद्ध भैरव, भीमदल कम्पनीहरु एकै महिनामा खडा गरिएका थिए । ति सबै कम्पनिहरुले निशानहरु पाएका थिएनन् । नयाँ सबुज कम्पनि (हाल गण) को पहिलो नेतृत्व बडाकाजी अमरसिंह थापाले गरेकाले यस कम्पनि कमाण्डर पनि उनै अमरसिंह थापा हुन् ।

 २. यमुना नदी तरेर शुरु भएको एकिकरण युद्धमा यस गण समेत भई गढवाल ईलाकामा भएका बाह् कुराईको साना राज्यहरु जिती सतलज नदी तरेर कांगडा राज्यमा प्रवेश गर्र्यो । त्यसपछि १८६७ साल सम्म कांगडाको किल्ला कब्जा गर्न प्रयासमा यो गणले भाग लियो । तर सफलता मिलेन र त्यसपछि नेपाल एकिकरण अभियान पनि बन्द भयो । यसको चार वर्ष पछि १८७१ सालमा अंग्रेजहरुले भारतमा खडा गरेको ईष्ट इण्डिया कम्पनिसंग यहि क्षेत्रबाट पहिलो चरणको नेपाल-अंग्रेज युद्ध (नेपाल कम्पनी वार) शुरु भयो । यस युद्धमा भक्ति थापाको कमाण्डमा मलाउको किल्लाबाट अंग्रेज विरुद्ध लडाई लड्यो । यहि युद्धमा भक्ति थापाले वीरगती प्राप्त गरेका थिए । वीर भक्ति थापा यस गण (तत्कालिन कम्पनि) का दोश्रा कम्पनि कमाण्डर हुन् ।

 ३. नेपाल अंग्रेज युद्धको दोश्रो चरणमा अरु फौजसंग यो गण हालको सिन्धुली जिल्लामा भएको हरिहरपुर गढीमा काजी रणजोर थापाको कमाण्डमा तैनाथ थियो । यो युद्ध नेपालले हारेपछि मकवानपुर गढीमा तैनाथ भयो र यही युद्ध पछि सुगौलीको सन्धी भै नेपाल अंग्रेज युद्ध (नेपाल कम्पनि वार) समाप्त भयो । यसैगरी यस गणले १९१२ सालमा भएको अन्तिम नेपाल भोट युद्धमा श्रीनाथ, देवीदत्त, गणेशदल, भैरवनाथ, रामदल, दूर्गाबक्स लगायतको पल्टनहरु संग जनरल बम बहादुर कुंवरको नेतृत्वमा लड्यो । यसको दुई बर्ष पछि तत्कालिन भारतमा रहेको बृटिस सरकारको सहयोगमा त्यहा भएको सिपाही बिद्रोह दबाउन कप्तान बहादुर गम्भीरसिंह रायमाझीको कमाण्डमा रहि १९१२ सालमा लखनउ ईलाकामा बहादुरीको साथ काम गर्र्यो । तर यस कारवाहीमा यो गण गोरखनाथ पल्टनको लेफ्ट हाफ (Left Half) भै गएको थियो ।

४. यसै गरि भारतमा रहेको बृटिस सरकारको सहयोगमा प्रथम विश्व युद्धमा यस गण र फष्ट राईफल पल्टनको जवानहरु मिलाई ४५० को नफ्रिमा १९७२ पौष ६ गतेबाट भारतको काकुलमा खटियो । बृटिस सरकारको सहयोगमा १९९६ सालमा भएको दोश्रो विश्व युद्धमा फष्ट राईफल रेजिमेन्टकै लेफ्टहाफ भई भारतको नौसेरामा तैनाथ थियो ।